नियम १०५
मर्यादापालकको नियुक्ति
(१) मर्यादापालन समूहको पदपूर्तिको निमित्त समिति समक्ष आवश्यक सिफारिस गर्न देहाय बमोजिमको एउटा सिफारिस समिति रहनेछ ।
(क) महासचिव – अध्यक्ष
(ख) सचिव –सदस्य
(ग) सचिवालय सचिव –सदस्य
(घ) प्रधानसेनापतिले तोकेको नेपाली सेनाको कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको अधिकृत –सदस्य
(ङ) प्रहरी महानिरीक्षकले तोकेको नेपाल प्रहरीको कम्तीमा राजपत्रांकित प्रथम श्रेणी वा सो सरहको अधिकृत –सदस्य
(च) सचिवालयको कानून महाशाखा प्रमुख –सदस्य
(छ) सचिवालयको प्रशासन महाशाखा प्रमुख – सदस्य–सचिव
(२) मर्यादापालन समूहको कुनै पद रिक्त भै पदपूर्ति गर्नु परेमा उपनियम (१) बमोजिमको सिफारिस समितिले पदपूर्तिका लागि आवश्यक विवरण सहित दरखास्त आह्वान गरी सम्बन्धित सबैको जानकारीको लागि सार्वजनिक रूपमा सूचना प्रकाशन गर्नेछ ।
(३) उपनियम (१) बमोजिमको सिफारिस समितिले दरखास्त दिने उम्मेदवारहरूकोे शारिरीक परीक्षण, लिखित परीक्षा र अन्तरवार्तामध्ये कुनै वा सबै विधि अपनाई उपयुक्तताको छनौट गरी सम्बन्धित पदमा नियुक्तिका लागि समिति समक्ष सिफारिस गर्न सक्नेछ ।
(४) उप नियम (१) बमोजिमको सिफारिस समितिले उम्मेदवारको उपयुक्तताको छनौट गर्ने सम्बन्धमा सहयोग लिनका लागि आवश्यकता अनुसार विशेषज्ञहरू समेत रहेको उपसमिति गठन गर्न सक्नेछ ।
(५) उपनियम (३) बमोजिम सिफारिस गरिएको उम्मेदवारलाई समितिको निर्णयानुसार महासचिवले नियुक्ति पत्र दिनु पर्नेछ ।
(६) मर्यादापालक पदमा नियुक्त व्यक्तिले पद बहालि गर्नु भन्दा अगाडि महासचिव समक्ष अनुसूची– ५ बमोजिमको ढाँचामा शपथ ग्रहण गर्नु पर्नेछ ।
(७) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि मर्यादापालकको कुनै दरबन्दी रिक्त रही तत्काल पदपूर्ति हुन नसकेको अवस्थामा वा व्यवस्थापिका– संसदको अधिवेशन वा यसका समितिहरूको बैठक सञ्चालन भएको अवस्थामा व्यवस्थापिका–संसद परिसरको सुरक्षा गर्न तथा व्यवस्थापिका–संसद र व्यवस्थापिका– संसदको समितिको बैठक सुचारु रूपले सञ्चालनको लागि मर्यादापालन सम्बन्धी कार्यमा सघाउ पु¥याउन कार्यरत मर्यादापालकको संख्या अपुग हुने अवस्था आइपरेमा नेपाली सेना, नेपाल प्रहरी वा शसस्त्र प्रहरी सेवामा कार्यरत सुरक्षाकर्मीहरूलाई सम्बन्धित निकायसँग समन्वय गरी काजमा झिकाई काममा लगाउन सकिनेछ ।
(८) मर्यादापालन समूहको पदपूर्ति सम्बन्धी अन्य कार्यविधि उप नियम (१) बमोजिमको सिफारिस समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।